नेपाल मात्र नभई विश्व मै लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ । नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ ।
आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ | आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका छन् । हिजोका प्राथमिकताहरू बदलिएर आज अर्कै चिज प्राथमिकता बन्न पुगेका छन्। हिजो ‘सन्तानले डाँडा काँडा ढाकुन्’ भन्ने आशीर्वादको ठाउँमा ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने ठाउँबाट पनि अब विवाह नै किन ? भन्ने ठाउँमा आइपुगेको छ समाज । हिजो भोकमरी, अनिकाल भयङ्कर समस्याको रूपमा थियो । भोकमरीले लाखौँ मान्छेको मृत्यु हुन्थ्यो । हिजो सामान्य खान पाउन वा आफ्नो पेट भर्नु जनताका लागी ठुलो उपलब्धिका रूपमा रहन्थ्यो । पुरै विश्व भोकमरीबाट आक्रान्त हुन्थ्यो । खाद्य अभावका कारण लाखौँ मानिसको मृत्यु हुन्थ्यो, जताततै अनिकाल हुन्थ्यो ।
नेपालमा अहिले पनि भोकमरीको अन्त्य नभए पनि भोकमरी अनिकालको रूपमा भने रहेको छैन । भोकमरीबाट आज नेपाली समाज अगाडि आएको छ । हिजोको अनिकाल आज परिवर्तन भएको छ । आज बढी खाएर हुने रोगहरू सुगर, प्रेसरका बिरामी भोकमरी भन्दा बढी रहेका छन् । आज भोकमरी भन्दा बढी अत्यधिक खानाका कारण मानिसहरू बढी मरिरहेका छन् । त्यै पनि नेपालमा गरिबी एक चौथाइ अझै कायम छ । अन्य विश्व मानवका प्राथमिकता र नेपालीका प्राथमिकता अझै फरक भने रहेकै छन् । आज विश्व समुदायमा बढी जसो मानिस खान नपाएर कुपोषणका कारण मरिरहेका छैनन् । यो अवस्थाको अन्त्य भएको छ । यसको अर्थ हिजोको भोकमरी भन्दा पनि नयाँ चुनौतीका रूपमा रहेको महामारी हरू जस्तो इबोला, कोरोना महामारी, एड्स लगायतका कारण लाखौँ मानिसले ज्यान गुमाउनु पर्यो । महामारीका कारण विश्व अर्थतन्त्र धराशायी हुन् पुग्यो । यसको प्रत्यक्ष असर नेपाल जस्ता गरिब देश लाई पर्नु स्वाभाविक हो ।
अहिले देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ भनिन्छ | यसमा के भन्न सकिन्छ भने कहिल्यै नेपालको अर्थतन्त्र बलियो थियो र अहिले कमजोर भयो भन्ने हो । नेपाल आर्थिक रूपले सधैँ कमजोर र गरिब मुलुक नै हो । नेपालको मुख्य चुनौती, नेपालको अर्थतन्त्रलाई बलियो बनाउनु थियो र छ । त्यो काम न हिजोका दिनमा भयो न अहिले नै हुँदै छ । पहिले र अहिलेका शासकहरू यसरी बाँसुरी बजाइरहेकी नेपाल विश्व मै आर्थिक रूपले सम्पन्न मुलुक हो भनेर भनिरहे जस्तो पारियो । यसो हुनुमा मुख्य कुरा के थियो भने जनता लाई सधैँ गुहराममा राखिराख्न शासकहरू सफल भइरहे | हिजो राणा र पञ्चायत कालमा जनता लाई सैनिक बलको आधारमा दबाइयो र आफूलाई मात्रै जनताका मालिक रहेको र जनताले अनिकाल बाट मरे पनि जनताको घरको अन्न, मीठो दही दूध,घिउ जनताको नभई पहिला शासकहरूको हुनुपर्ने नियम बनाइयो । या भनौँ जसको लाठी उसको भैँसी भने झैँ बलियो ले मात्रै समाजमा हैकम चलाएर निर्धा लाई शोषण गरिरहने प्रवृत्ति हाबी भयो । मत्स्य न्यायमा बाँच्यो समाज । जनताले शासकका विरुद्ध उभिने मौका पाएनन्। नेपालमा तत्कालीन शासकहरूले त्यै जनता माथि शोषण गर्न पाउनुलाई सर्वोच्च सुखका रूपमा लिए । भोलि देश लाई कता लैजाने कहाँ पुर्याउने भनेर सोच्दै सोचेनन् वा भनौँ त्यो सोच्ने ल्याकत भएन । यसको परिणाम स्वरूप आजको नेपाल यस्तो गरिब हुन् पुग्यो । हिजो राम्रो गरिदिएको भए आजको नेपाल पनि विकसित र सम्पन्न हुने थियो ।
संसारका देशहरूले प्रगतिको शिखर मा पुगिसकुन्जेल हाम्रोमा बल्ल बोल्न पाउने अधिकार प्राप्त भयो । अहिले आएर बोल्न त पाइयो तर के बोल्ने र के का लागि बोल्ने भन्ने कुरा अझै हामीलाई थाहा छैन । आज नेपाली समुदाय वा नेपालीहरू वैध अवैध ढङ्गले जसरी भए पनि विश्वका हरेक जसो मुलुकमा पुगेका छन् । त्यहाँको अत्याधुनिक विकास देखेर नेपालीहरू तीन छक पर्छन् र त्यसलाई नेपाल मा हेर्न चाहन्छन् । आफ्नो मुलुक सम्पन्न बनाउन सम्बन्धित देशका जनताले गरेको मेहनत का बारेमा पढ्न,लेख्न र ती सङ्घर्ष का कथा सुन्नै चाहँदैनौ हामीहरू । उनीहरूले आफ्नो देश बनाए तर नेपाल त नबनाई कनै कसरी बन्छ होला भनेर सोच्दैनौ ।
हाम्रा आकाङ्क्षा र यथार्थ बिच यति धेरै फरक पाउँछौँ कि विदेशमा हुँदा बिदेसी हरूको प्रगति देखेर युधिष्ठिरको राजमहल इन्द्रप्रस्थको चकमन्नता देखेर जसरी दुर्योधन छक परेका थिए र द्रोपतीले उनलाई हेपेकी थिइन् त्यही महाभारतको युद्धको एक कारण बनेको थियो । यस्तै विदेशको भनौँ वा मानव जातिले गरेको चमत्कार हाम्रोमा किन भएन भनेर हामी ईर्ष्या मात्रै गरिरहेका पो छौ कि जस्तो लाग्छ । यो दुर्योधनकै ईर्ष्या मात्रै हो उसले आफ्नो हस्तिनापुरलाई किन इन्द्रप्रस्त जस्तो बनाउन सकेनन् त । आज हाम्रोमा पनि यस्तै समस्या हो। हामीले हाम्रो देश बनायौ भने मात्रै बन्ने हो नत्र बन्दैन मुलुक । बन्छ त केवल ईर्ष्या, डाहा र पलायन र पीडा मात्रै निर्माण हुन्छन् । यसको प्रतिफल गरिबी र पिछडापन बढेर कङ्गाल बन्ने हुन्छ ।
आज भौतिक काम बाहेक बौद्धिक स्तरबाट हुने प्रत्येक प्रशासनिक कामहरू कम्प्युटरले गरिरहेको छ | हिजो यस्ता कामहरू मान्छे आफ्नै हातले गर्नु पर्दथ्यो | आजको यो अवस्थामा आइपुग्न मानिसले हजारौँ वर्षको जुन कष्ट साध्य विगत भोग्नु पर्यो त्यसलाई सम्झने हो भने मात्रै हामी मानव उपलब्धिका यी अवसरहरूको सही सदुपयोग गर्न सक्दछौ | हामीले आजको यो मानव उपलब्धि लाई अझै झन् उचाइमा पुर्याउन सक्छौ | यदि हाम्रा पुर्खाहरूको त्यो त्याग र समर्पणले बनाएको यो सुन्दर संसारलाई हामीले अझै झन् समृद्ध बनाउन लाग्नु पर्दछ | अहिले आएका नयाँ पर्यावरणीय समस्याहरूले जुन चुनौती थपेका छन् त्यसको निराकरण गर्न मानव जाति एक जुट भई लाग्नु पर्दछ | मानवीय हक अधिकार हरूको संरक्षण र संवर्द्धन गर्दै विज्ञानका नवीनतम उपलब्धि हरूलाई सबै मानिसले समान तरिकाले उपभोग गर्न पाउने गरी राजनैतिक व्यवस्था र सामाजिक व्यवस्थाको निर्माण गरिनु पर्दछ | सँग सँगै हरेक प्राणीको सुरक्षित बाच्न पाउने हकको ग्यारेन्टी पनि मानिसले गर्नुपर्दछ | भोलिका पीढी लाई अहिलेको जस्तै सुन्दर धर्ती हस्तान्तरण गर्नुपर्ने चुनौती सबैभन्दा ठुलो चुनौतीको रूपमा संसार सामु खडा भएको छ | विश्वमा सृजना भई रहेका नयाँ मानव सृजित समस्याको समाधान मानव आफैले समाधान गर्नु पर्ने नयाँ चुनौती मानव सामु आएको छ |
एकातिर मानव मानव बिचको असमानताको खाडल व्यापक बन्दै जानु, अर्को तिर पर्यावरण माथिको भीमकाय आक्रमण बढ्नुले मानव जाति मात्र होइन सिङ्गो भविष्य समाप्त हुने त होइन भन्ने प्रश्न खडा भएको यो अवस्थामा पर्यावरण संरक्षणका खातिर विश्व मानव जातिमा नयाँ चेतनाको विकास गर्न जरुरी छ | यो धर्ती मा लाखौँ वर्ष पछि पनि मानिस ले बाच्न पाउनु पर्दछ | आजको पुस्ताले विकास को नाममा यो एक मात्र धर्तीको चरम दोहन गरिनु हुन्न | हामीले भोलिको नयाँ पुस्ताका लागि सुरक्षित र स्वच्छ पृथ्वी जस्ताको त्यस्तै हस्तान्तरण गर्नु पर्दछ |